‘हरिहर सत्सङ्ग सेवा समाज, नेपाल’ प्रचलित नेपालको कानुनको अधीनमा रहेर संस्था दर्ता ऐन, २०३४ अन्तर्गत स्थापित एक मुनाफारहित, जनहितकारी सामाजिक संस्था हो। यस संस्थाको उद्देश्य भनेको सनातन वैदिक दर्शनमा आधारित अनन्त सुख प्राप्तिको मार्गको सिद्धान्तको प्रचार–प्रसार गर्ने एवं क्रियात्मक साधना गराउनु हो। यस संस्थामा आबद्ध भएर वेदशास्त्रको ज्ञान प्राप्त गर्ने र अनन्त सुख प्राप्तिको निम्ति भक्ति-साधना गर्ने अवसर प्राप्त गर्नुहुन सबैमा अनुरोध छ।
आउनुहोस्, हामी पनि वेदमा बताइएको अनन्त सुखप्राप्तको रहस्यलाई जान्दै त्यो अनन्त आनन्द प्राप्त गर्ने यात्राको सहयात्री बनौँ।
हामी सबै अनन्त मात्राको प्रतिक्षण बढ्दै जाने र सधैँ रहिरहने आनन्द चाहन्छौँ, जसलाई वेदमा रस भनिएको छ। त्यही रसलाई पाएर नै वास्तवमा हामी सुखी हुन सक्छौँ। त्यसैले वेद भन्दछ– रसं लब्ध्वा सुखी भवति। सुखी हुनको निम्ति यही रहस्य वेदमा भएकाले नै आज विश्वभरि नै दार्शनिकहरू, बुद्धिजीवीहरू वेदतिर फर्कँदै छन्। वेदको अध्ययन गर्दै छन् र वेदद्वारा निर्दिष्ट साधना गर्दै छन्।
सनातन धर्मको रक्षाको निम्ति हाम्रो एउटा प्रयास।
अहिलेको नयाँ पीढीले कसरी सानैदेखि पढ्ने र विदेश गएर पैसा कमाउने उद्देश्य लिएका हुन्छन्। त्यसैले हाम्रो धर्मको बारेमा जान्नको निम्ति उनीहरूलाई खासै चासो नै हुँदैन। घर परिवारमा पनि बालबच्चाहरूले हाम्रो धर्मको बारेमा जानून् भन्ने सोच प्रायः कसैको पनि हुँदैन। हाम्रो धर्मको बारेमा एउटा पीढीले जानेर भने बिस्तारै हाम्रो धर्म अनि संस्कृति लोप हुँदै जान्छ। त्यसैले हाम्रो धर्म के हो? सनातन धर्म अनुसार हाम्रो लक्ष्य के हो? त्यो लक्ष्यलाई कसरी प्राप्त गर्न सकिन्छ? हाम्रो धर्म कसरी वैज्ञानिक छ? हाम्रो धर्मका मूल ग्रन्थहरू के के हुन्? ती ग्रन्थहरूको सार के हो? इत्यादि प्रश्नहरूको समाधान अत्यन्त जरुरी छ।
यसको निम्ति यस संस्थाले सनातन धर्म भक्ति मार्गका प्रचारक स्वामी श्री रामदासजीको प्रवचन नियमित रूपमा टिभीबाट प्रसारण भएमा व्यक्तिहरूले हाम्रो धर्मको सार बुझ्न सजिलो हुनेछ भन्ने ठानेर हरेक दिन दिव्य दर्शन टिभीबाट स्वामीजीको प्रवचन प्रसारण गरिरहेको छ।